एमालेलाई पनि सरकारमा ल्याउनु पर्छ : दुर्लभ थापा

भक्तपुर । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले नेकपा (एमाले) लाई पनि सरकारमा ल्याउनु पर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थापाले मुलुकको चौतर्फी विकासका लागि प्रतिपक्ष दल एमालेलाई समेत सरकारमा सामेल गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

देशको ठूलो राजनीतिक दल कांग्रेस भएकाले सबै राजनीतिक दललाई मिलाएर लान सकस भएता पनि लामो राजनीतिक अनुभवका आधारमा कांग्रेसले राजनीतिक सहमतिलाई नचुकिकन इमान्दारपूर्वक लागू गर्ने उहाँले बताउनुभयो ।

सांसद थापाले सत्ता गठबन्धन दलहरुमा गृह र अर्थ मन्त्रालयको यथाशीघ्र टुंगो लाग्ने र सरकारले चाँडै पूर्णता पाउने उल्लेख गर्नुभयो ।

संघीयताका विषयमा विभिन्न प्रश्नहरु उब्जिरहेका बेला संघीयताको व्यावहारिक कार्यान्वयनलाई पारदर्शीतवरले लागू गर्नेमा कांग्रेस अग्रसर हुने उहाँले बताउनुभयो ।

मिटरब्याजी समस्या संघीय सरकारको मात्र नभएर यसलाई प्रदेश र स्थानीय सरकारले समन्वय गरी समाधान गर्नुपर्ने बताउँदै सांसद थापाले यथाशीघ्र संघीय सरकारले यसको समाधानको उपाय निकाल्ने बताउनुभयो ।

आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई दृष्टिगत गरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन कांग्रेस सचेत रहेको बताउँदै थापाले वर्तमान आर्थिक संकटलाई थप बढावा दिने काम राष्ट्र बैकको अर्थ नीतिले गरेको उहाँले आरोप लगाउनुभयो ।

आर्थिक अवस्था सुधार गर्न व्यक्तिले थुपारेको धनलाई बैकिङ प्रणालीमार्फत विभिन्न उद्योग, व्यवसायमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार