मोदीको अमेरिका भ्रमणमा रक्षामा जोड

भारतीय प्रधानमन्त्री मोदी अहिले अमेरिकाको राजकीय भ्रमणमा छन् । भ्रमणमा सैन्य, व्यापार, प्रविधिलगायत क्षेत्रीय मुद्दाहरू हावी हुनेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकाको राजकीय भ्रमणमा छन् । यस भ्रमणमा सैन्य, व्यापार, प्रविधि क्षेत्रलगायत क्षेत्रीय मुद्दाहरू हावी हुनेछन्। भूराजनीतिक ध्रुवीकरणको सन्दर्भमा यी दुई विश्व नेताको भेटले विशेष महत्व राखेको छ । वास्तवमा, यस भ्रमणको मुख्य उद्देश्य भूराजनीतिमा चीनको प्रभावलाई रोक्न रक्षा र कूटनीतिमा भारत-अमेरिका सम्बन्धलाई गहिरो बनाउनु हो। मोदीको भ्रमणलाई दुई देशबीचको सम्बन्धमा नयाँ कोसेढुङ्गाको रुपमा हेरिएको छ । जसले उनीहरुको साझेदारीलाई अझ गहिरो र विविध बनाउनेछ।

मोदीलाई बिहीबार वासिङ्टनस्थित ह्वाइट हाउसको साउथ लनमा भव्य स्वागत गरिने छ । मोदी र बाइडेनले पछि ओभल अफिसमा औपचारिक भेट गर्नेछन्। नरेन्द्र मोदी आज राति उनको सम्मानमा आयोजना गरिएको राजकीय रात्रिभोजमा सहभागी हुनेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने योजना छैन । तर, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने काम अझै जारी रहेको बताए ।
बाइडेनले भारतमा प्रजातन्त्रको ‘क्षति’को विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। यद्यपी ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले मोदीलाई कुनै पनि व्याख्यान नदिने पत्रकारहरुलाई बताए ।

भ्वाइस अफ अमेरिकाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको मुख्य विषय रक्षा उपकरण उत्पादनमा पारस्परिक सहयोग रहनेछ। दुई देशका राष्ट्राध्यक्षबीचको भेटमा रक्षा उपकरण उत्पादनमा दुई देशबीचको सहकार्य महत्वपूर्ण हुनेछ । तीमध्ये आधुनिक जेट इन्जिन निर्माणसम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर हुन सक्ने बताइएको छ । अमेरिका भारतसँगको संयुक्त लगानीमा लडाकु जेट इन्जिन विकास गर्न इच्छुक छ। सम्झौताको वार्ता पनि चलिरहेको छ ।

आधिकारिक स्रोतका अनुसार दुई देशले रक्षा क्षेत्रमा द्विपक्षीय सम्बन्धमा नयाँ मोड ल्याउन ‘क्रिटिकल एण्ड टेक्नोलोजी’ नामक नयाँ परियोजना सुरु गर्न लागेका हुन् । जीई जेट इन्जिनहरू निर्माण गर्ने संयुक्त उद्यम त्यो कार्यक्रमको एक हिस्सा हो। सरकारी स्रोतका अनुसार अमेरिकी रक्षामन्त्री क्याथलिन हिक्स र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीचको भेटमा पनि यस विषयमा छलफल भएको थियो ।
भेटमा मोदी र बाइडेनले रक्षा सहयोग, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्वान्टम कम्प्युटिङ र लगानी सम्बन्धी धेरै सम्झौताहरू घोषणा गर्ने अपेक्षा गरिएको छ। सम्झौतासँगै बंगलादेशका विषयमा पनि दुई विश्व नेताबीच छलफल हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार