काठमाडौं महानगरको अव्यावहारिक कर नीति हटाउन माग

काठमाडौं । कमर्सियल आर्टिस्ट संघले काठमाडौं महानगरको अव्यावहारिक कर नीति हटाउन माग गरेको छ । संघअन्तर्गतको नेपाल सटर तथा भित्तेलेखन कला समितिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अव्यावहारिक कर नीति हटाउन माग गरेको हो ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय पेन्टिङसँग सम्बन्धित सिंगो व्यवसायलाई धराशायी हुनेगरी कर लगाएको नेपाल सटर तथा भित्तेलेखन समितिका अध्यक्ष केशव लामाले बताए । उनका अनुसार यो क्षेत्रमा झण्डै पाँच लाख परिवार आश्रित रहेको छ । तर महानगरले ल्याएको अव्याहारिक कर नीतिका कारण सबैको रोजीरोटी गुम्ने अवस्था आएको छ । ‘राज्यको विकासको लागि कर तिनुपर्छ, हामी तिरेकाछौँ र तिर्छौँ पनि तर त्यो कर व्यावहारिक हुनु प-यो, न्यायोचित हुनुप-यो, वैज्ञानिक हुनुप-यो ।

बिचौलियामार्फत त कर लिनु भएन नि’, उनले भने, ‘राज्यले अहिले सिधै कर नउठाएर बिचौलिया र माफियाको माध्यमद्वारा कर उठाएर हाम्रो व्यवसायमाथि नै धावा बोलेको छ, यो अवस्थामा हामी चुप लागेर बस्यौँ भने हाम्रो व्यवसाय धराशायी हुन्छ, हाम्रो रोजीरोटी खोसिन्छ । हाम्रो रोजगारी र रोजीरोटीकोको ग्यारेन्टी कसले लिन्छ ।’

यस्तै नेपाल कमर्सियल आर्टिस्ट संघका महासचिव चित्र बहादुर कार्कीले करमा एकरूपता हुनुपर्ने बताए । नेपालमा अहिले विज्ञापन कर अत्यधिक महंगो भएको भन्दै काम दिने कम्पनी नै नभएको उनले बताए । ‘अहिले तीन बाई १० को होर्डिङ बोर्डको कर ३० हजार रूपैयाँ पर्छ, यो नागरिकमाथिको राज्यको ज्यादती भएन र ?’, उनले भने, ‘अहिले हाम्रो काम खोस्ने १ नम्बरको खराब निकाय भनेको काठमाडौं महानगरपालिका हो ।’ राज्यको विरोध गर्नु आफ्नो काम नभएको भन्दै उनले अहिले आफूले बाँच्ने आधार खोजेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार