बढ्यो ठाकुरको सक्रियता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन अनुकूल वातावरण निर्माणका लागि दौडधुपमा लागेका छन्। लोसपाले नयाँ राष्ट्रपतिमा अध्यक्ष ठाकुरलाई अघि सार्ने निर्णय गरिसकेको छ।

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग गर्न आफूहरूले राखेको प्रस्तावमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक जवाफ दिएको बताए। ‘उहाँहरूसँग हामीले छुट्टाछुट्टै भेट्यौं। उहाँहरूले ठाकुरजीलाई सहयोग गर्न तयार छौं। अन्य दलको पनि सहयोग जुटाउन भन्नु भएको छ’, झाले भने, ‘त्यसैले नयाँ राष्ट्रपतिमा अध्यक्ष ठाकुरको सम्भावना बढेको छ।’

केही दिनअघि ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनबाटै आफ्नो गाडीमा राखेर ठाकुरलाई बालकोट लगेका थिए। बालकोट पुगेपछि ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो। लोसपाका एक नेताका अनुसार त्यो भेटमा ओलीले ठाकुरलाई राष्ट्रपतिको चुनावमा सहकार्य गर्न प्रस्ताव गरेका थिए। ती नेताले भने, ‘ओलीसँगको भेटपछि ठाकुरको सक्रियता झनै बढेको छ, पार्टीभित्र पनि यसबारेमा छलफल भयो।’

यस विषयमा ठाकुरले देउवा, ओली, दाहाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग दोहोर्‍याएर कुराकानी गरेका छन्। ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताले मंगलबार देउवा निवास धुम्बाराही पुगेर उनलाई भेटेका थिए। ठाकुर राष्ट्रपतिका लागि योग्य भएको लोसपाका नेताहरूको दाबी छ।

उपराष्ट्रपति पाउनुपर्ने जसपाको अडान

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका छन्। यसैका लागि पछिल्लो समय यादवको दौडधुप पनि निकै बढेको छ। जसपाका प्रवक्ता मनिष सुमनले प्रमुख पाँच पद राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुख र प्रधानमन्त्रीमध्ये कम्तीमा एउटा पदमा मधेसीमूलबाट प्रतिनिधित्व हुनुपर्ने पार्टीको माग भएको बताए। ‘हाम्रो माग संविधानको भावनाअनुसार हो’, सुमनले भने, ‘संविधानमाा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग र समुदायको हुने भन्ने प्रष्ट छ।’

यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका शीर्ष नेतासँग भेटेर यसै विषयमा छलफल गरेका छन्। प्रवक्ता सुमनका अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक पद जसपाले पाउनुपर्छ। यादव निकट स्रोतका अनुसार उनले कांग्रेस, माओवादी केन्द्र र एमालेका शीर्ष नेतासँग समानान्तर कुराकानी गरिरहेका छन्। पछिल्लो समय यादव प्रधानमन्त्री दाहालसँग निकट देखिएको जसपाका अर्का एक नेताले बताए।

यादव एमाले नेतृत्वको वर्तमान सत्ता गठबन्धनसँग असन्तुष्ट भएको उनी निकट नेताहरू बताउँछन्। शक्ति बाँडफाँटमा ओलीले जसपालाई पूरै बेवास्ता गरेको यादवको गुनासो छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार