यसरी रद्द गरेका थिए प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री डा. पौड्यालको भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ मुख्य सचिव शंकर दास बैरागी मार्फत परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरेका हुन।

मन्त्री पौड्यालको सचिवालयले आइतबार साँझ दिएको जानकारी अनुसार मन्त्रीको जेनेभा तर्फको उडान आइतबार साँझ ६ बजे थियो। मन्त्री पौड्याल मन्त्रालयबाटै विमानस्थल जाने योजनामा थिइन।

मन्त्री पौड्यालकी प्रेस संयोजक यशोदा अधिकारीका अनुसार त्यतिबेलै प्रधानमन्त्री दाहालले मन्त्रीको जनेभा भ्रमण रद्द गर्न लगाएका हुन।

‘विदेश भ्रमणको तयारी भइरहेका बेला अचानक शंकरदास वैरागीले फोन गरेर प्रधानमन्त्रीबाट भ्रमण रद्द गर्न निर्देशन आएको जानकारी गराउनुभयो।’ प्रधानमन्त्री दाहालले जेनेभा भ्रमण किन रद्द गर्न लगाए भन्ने बिषयमा मुख्य सचिवले केही नखुलाएको अधिकारीले बताइन्।

स्रोतका अनुसार यसअघि आइतबार बिहान मात्र भ्रमणका बारेमा मन्त्री पौड्यालले प्रधानमन्त्रीलाई जानकारी दिएकी थिइन। प्रधानमन्त्री दाहाल स्वयंले मन्त्री पौड्यालसँग भ्रमणबारे जिज्ञासा राखेका थिए। भ्रमण उडान तालिकालगायतका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

‘भ्रमण रद्द भएपछि मन्त्री पौड्यालले प्रधानमन्त्री दाहालसँग कुरा गर्न खोज्दा उनी गोरखामा रहेको जानकारी पाएकी थिइन’, स्रोतले भन्यो ।

अहिले यो भ्रमणमा प्रधानमन्त्री दाहालको निर्देशन अनुसार पूर्व कानुन तथा संसदीय व्यवस्थामन्त्री गोविन्द शर्मा बन्दी, प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल गएका छन्।

मन्त्री पौडयाल नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जनेभा जाने तयारीमा थिइन्। आइतबार बिहान उनले पत्रकार सम्मेलन गरेर आफु जेनेभातर्फ जान लागेको जानकरी समेत गराएकी थिइन्। जेनेभापछि दोहाको कतारमा हुन लागेको अति कम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिने पौड्यालको योजना थियो।

एक साता अघि उनको जेनेभा भ्रमण तय भएको थियो। त्यतिबेलै प्रधानमन्त्री दाहालले पूर्व मन्त्री गोविन्द शर्मा बन्दीको नामसमेत समावेश गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री दाहाललाई भनेअहिले सत्ता समीकरण परिवर्तन हुन लागेको र राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने भएका कारण बैठकमा मन्त्री राई पौड्यालबाट प्रतिकुल धारणा व्यक्त हुन्छ भन्ने डर लागेको हुनसक्ने मन्त्तालय स्रोतको दाबी छ ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले नै एमालेलाई सरकारबाट बाहिरिन दबाव दिएको बताएका छन्। उनले प्रधानमन्त्री दबावका लागि विभिन्न हतकण्डा अपनाउन थालेपछि सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको बताएका हुन।

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको बताए।

उनले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्रीलाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको उल्लेख गरे। उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गरेका छन्।

एमालेले सोमबार बिहान सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। निर्णयपछि संचारकर्मीहरुसँग उपाध्यक्ष पौडेलले उक्त कुरा बताएका हुन। यस अघि एमालेले राष्ट्रपति उम्मेदवारी दर्ताको क्रममा फागुन २५ गतेसम्म सरकारमै बस्ने घोषणा गरेको थियो। २५ गते राष्ट्रपतिको निर्वाचन हुदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार