मन्त्रालय र मन्त्रीको नाम छिटो पार्टी केन्द्रिय सचिवालयमा पेश गर्न नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रिय सचिवालयमा छिटो पेश गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।

मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव तत्काल पेश गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रिय सचिवालयमा पेश गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुबारे टुंगोमा पुग्ने सकिने उहाँको भनाई थियो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुंगो नलागिकन मन्त्रीहरुको टुंगो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडो भन्दाचाँडो सचिवालयको बैठकमा पेश गर्न ३ सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौं । कार्यदलले चाँडो भन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामसहित उसले पेश गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेश गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौं ।’

त्यसैगरी बैठकले मिटरब्याँज पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरुलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताउनुभयो ।

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्विकृत गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार