नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् ।

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।

यो सेवामार्फत विदेशमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारमा रहेका श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्ने छन् ।

टेलिमेडिसिन सेवा बुधबार बिहान १० बजेदेखि सुरु हुने छ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डले जनाएको छ । बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।

सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइने छ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार