कोरोना बढ्यो : समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको संख्या बढ्न थालेको हो ।

केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरु बढिरहेका छन् । यस बीचमा केही कोरोना संक्रमितको निधन भएको छ । तर, कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो ।

कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनु हुँदै उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताउनुभयो ।

सञ्चारकर्मीसँगको कुराकानीमा डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु पनि बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।

डा.पुनले कोरोनाको बुस्टर खोप नलगाएकाहरुले बेलैमा बुस्टर खोप लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिनुभयो ।

उहाँले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार