दुवै खुट्टा गुमाएका हरि बुढा मगर सगरमाथाको आरोहण गर्दै

काठमाडाैं । संसारमा गर्न नसकिने कुरा केही छैन । तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ ।

आत्मविश्वास र आत्मबलका पर्याय हरि बुढामगर हुनुहुन्छ । पूर्वगोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । अहिले उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसक्नुभएको छ । बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाईमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो ।

शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार हुनुहुन्छ । विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्नुभएका मगरले संचारकर्मीसँग कुरा गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताउनुभयो ।

उहाँले आफूले सगरमाथा आरोहणमार्फ् विश्व कीर्तिमान राख्न चाहेको बताउनुभयो । उहाँले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरुलाई गौरवान्वित बनाउने बताउनुभयो ।

उहाँले हरेक मानिससँग केही न केही कमजोरी भएपनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताउनुभयो । उहाँले हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताउनुभयो । उहाँले आफ्नो सगरमाथा आरोहणले जिवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरुलाई प्रेरणा दिने उहाँको भनाइ छ ।

सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उहाँले उल्लेख गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनशायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताउनुभयो ।

तत्कालिन रोल्पा निरुल गाविस हालको थवाङ गाउँपालिकामा जन्मिनुभएका बुढामगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताउनुभयो । कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पढ्नुभएको उहाँले कक्षा ६ र ७ मा रोल्पाकै कोर्चवाङमा पढ्नुभएको हो । त्यसपछि सदरमुकामबाट एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको उहाँ बुबाको सपना बमोजिम १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती हुनुभयो ।

उहाँले बुबाको सपना पूरा गर्न र अग्रजहरुलाई देखेर पनि बेलायती सेनामा भर्र्ती भएको बताउनुभयो । तत्पश्चात १५ वर्षसम्म विश्वका विभिन्न देशहरुमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरुमा सामेल हुनुभएको उहाँको सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमेको थियो । त्यसपछिको दुई वर्ष उहाँ २ वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोच समेत पलाएको उहाँ उल्लेख गर्नुहुन्छ ।

स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जित्नुभएको उहाँ दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउनुहुन्छ । उहाँ अपाङ्गता भएका व्यक्तिहरुप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा जोड दिनुहुन्छ । परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उहाँको भनाइ छ ।

अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परिरहेको भन्दै उहाँले सबै संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनुभयो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उहाँले बताउनुभयो । उनीहरुलाई राज्यले दया र माया होइन अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लाग्नुभएका बुढामगरले सरकार समक्ष सहयोग गर्न नसकेपनि बाधा, अड्चन नबनाइदिन आग्रह गर्नुभएको छ । यसअघि पनि उहाँले बुढामगरले मोन्ट ब्लाङ्क (४ हजार ८ सय १० मिटर), चुलु सुदूरपूर्व (६ हजार ५९ मिटर), किलिमन्जारो (५ हजार ८ सय ९५ मिटर), र मेरा पिक (६ हजार ४ सय ७६ मिटर) आरोहण गर्नुभएको छ ।

उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो । उहाँ ६ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार