पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा छाडिँदै

सौराहा। प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको लामि ताल क्षेत्रमा ती दुवै गैँडालाई स्थानान्तरण गर्न लागिएको हो।

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार हामीले आजै (आइतबार) पुष्पा र अञ्जलीलाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्ने तयारी गरी रहेका छौ”, निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठले भन्नुभयो । विभागको पत्र शनिवार मात्रै निकुञ्जलाई प्राप्त भएको पनि उहाँले बताउनुभयो ।
निकुञ्जमा मातृ विहीन अवस्थामा भेटिएका पुष्पा र अञ्जलीलाई संरक्षण कोषले पाले र हुर्काएको हो । संरक्षण कोषका प्रमुख डा। बाबुराम लामिछानेका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीवाट नियन्त्रणमा लिएर पालिएको हो ।

“पुष्पा त्यस्तै एक महिना जतिको थिई, अञ्जली दुई महिना जतिकी थिइ वन क्षेत्रमा एक्लै भेटिएपछि हामीले नियन्त्रणमा लिएर यसलाई हुर्काएका हौँ”, प्रमुख डा। लामिछानेले भन्नुभयो ।

कोषमा अहिले पनि पूजा नामको गैँडाको बच्चा रहेको छ । यसलाई २०७९ कात्तिकमा फेला पारिएको हो । यसरी फेला परेको गैँडाका बच्चालाई सुरुसुरुमा दूध नै खुवाएर हुर्काउने र पछि बिस्तारै घाँस र कुँडो खुवाउने गरिएको पनि उहाँले जनाउनुभयो ।

चितवन निकुञ्ज र प्रकृति संरक्षण कोषले अहिले सम्म पुष्पा र अञ्जली जस्ता १५ वटा मातृ विहीन गैँडा हुर्काइ सकेको छ । बाघ, गैँडा, चितुवा लगायतका जनावरलाई पनि यसरी नै पाउडर दूध खुवाएर हुर्काइन्छ । निकुञ्जका टुहुरा वन्यजन्तुहरूलाई आवश्यक पर्ने पाउडर दूधको खर्च व्यवस्था गर्दै आएको प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा। बाबुराम लामिछाने अहिले सम्म निकुञ्जमा १५ वटा गैँडा, २÷२ वटा बाघ र चितुवाका बच्चालाई पनि दूध नै दिएर हुर्काएको जानकारी दिनभयो ।

हात्ती, गैँडा, बाघ तथा चितुवा जे भए पनि एउटालाई महिनामा एक वोरा पाउडर दूध आवश्यक पर्ने गर्दछ । जसकालागि ४० हजार रुपियाँ खर्च हुने गरेको बताइन्छ । आमा कुनै पनि कारणले मरेमा वा त्यसले बच्चालाई अलपत्र अवस्थामा छाडेमा उ मातृ विहीन हुन पुग्ने डा। लामिछानेको भनाई छ । यसरी भेटिएका वन्यजन्तुका बच्चालाई ठुलो दूध दानी बनाएर दूध खुवाउने गरिन्छ ।

अहिले भेटिएका तिन वटा मध्ये एउटालाई पोखरीमा आहाल खेलिरहेका बेला भेटिएको हो भने एउटा घाँसे मैदानमा र अक्रो घाइते अवस्थामा भेटिएको हो । यसरी हुर्काइएका कतिपय वन्यजन्तु जङ्गलमै छाडिने गरिएको छ भने कतिपय चिडिया घरहरूमा र कतिपय त विदेशमा उपहार समेत दिइएका पाइन्छन् ।

“सन् २००२ मा जापानलाई दिइएको एक जोडी गैँडा मध्ये जङ्गे नामको एउटा गैँडा यसरी नै सानैमा माउबाट छुट्टिएर निकुञ्जका कर्मचारीले भेटेपछि हुर्काएको मध्येकै हो”, प्रमुख लामिछानेले भन्नुभयो, “यसरी हुर्काइएका जनावर धेरै जसो प्राकृतिक रूपमै छाडिएका छन् भने कतिपयलाई चिडिया घरमा पनि लगिएको छ ।”

पुष्पा र अञ्जली प्रकृति संरक्षण कोषमा सानो हुँदा । अहिले दुवै हुर्किएर प्राकृतिक वासस्थानमा छाडिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार