औचित्यहीन बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौँ। विगत पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन् ।

सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५-७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत पाँच वर्षमा ४३ लाख ७४ हजार ९९७ जना बेरोजगार सूचीकृत भएका थिए । जसमध्ये छ लाख ३९ हजार ३५४ जना अर्थात् १४ दशमलव ८३ प्रतिशतले मात्रै औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका हुन् । उक्त कार्यक्रममार्फत सबैभन्दा कम दिन आर्थिक वर्ष २०७५-७६ मा १३ दिन र सबैभन्दा बढी दिन आर्थिक वर्ष २०७८-७९ मा ७८ दिनसम्म रोजगारी प्राप्त गरेको तथ्याङ्कले देखाउँछ ।

श्रमको क्षेत्रमा अनुसन्धान गर्दै आउनुुभएका रामेश्वर नेपालले आन्तरिक रोजगारीको सिर्जना गरेर बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने योजनालाई सरकारका जिम्मेवार निकायले ख्यालठट्टाको विषय बनाई पाँच आर्थिक वर्ष सकाएको बताउनुुभयो ।

यस कार्यक्रमका नाममा बर्सेनि ठूलो बजेट सकिए पनि बेरोजगारीको अवस्था नघटेको उहाँको भनाइ छ । आन्तरिक रोजगारीमा प्राथमिकतामा पारिएको सरकारको यस कार्यक्रम कार्यान्वयन फितलो हुँदा अपेक्षित सङ्ख्यामा रोजगारी सिर्जना हुन सकेको छैन ।

चालुु आर्थिक वर्ष २०७९-८० मा आठ लाख ४१ हजार ३७९ जना बेरोजगार सूचीकृत भएकामा सो अवधिसम्म ६० हजार ५७५ जनाले उक्त कार्यक्रममार्फत औसतमा ७१ दिनको रोजगारी प्राप्त गरेका छन् । गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार