थुलुङदुधकोशी गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.५३ करोड बढीको बजेट पेश गरेको छ । आज आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा आयतर्फ संघीय सरकार समानीकरण अनुदान रु. १२ करोड २५ लाख, सशर्त अनुदान रु. २६ करोड ३० लाख, राजस्व बाँडफाँड रु. ८ करोड ३८ लाख ६९ हजार ७ सय, समपुरक अनुदान रु.१ करोड ३० लाख र विशेष अनुदान रु.१ करोड २५ लाख हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकार समानीकरण अनुदान रु. ७८ लाख ३३ हजार, सर्शत अनुदान रु.६४ लाख ५० हजार, समपुरक अनुदान रु. १ करोड र राजस्व बाँडफाँड रु. २९ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार आन्तरिक आय रु.१ करोड ४२ लाख ८८ हजार ७ सय ७३ गत वर्षको अल्या रु.३० लाख गरि कुल रु. ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ को बजेट पेश गरिएको हो ।

गाउँ विकास सहकारी गठन देखि बाली बिमा सम्मका कार्यक्रम
गाउँपालिका उपाअध्यक्ष सविता राईले पेश गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक विकास तथा आर्थिक विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उक्त नीति तथा कार्यक्रममा कृषकहरुको उत्पादनको समर्थन मूल्य तोकि बढि भएका उत्पादन खरिद गर्ने, गाउँ विकास सहकारी गठन गरि पालिका अन्तर्गतका किषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने, साथै नीजि, सरकारी तथा सहकरीको माध्यमबाट उत्पादन वृद्धि, रोजगारी सृजना तथा दीगो बिकासका कार्यक्रम सन्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ ।

कृषकलाई खेतीबालीमा आकर्षित गर्नको लागि मुख्य बालीहरुको पालिकाले बीमा गरिदिने भएको छ । पालिकाभित्रका सबै वडाहरुमा किसानका मुख्य बालीहरुको निशुल्क बीमा गर्नको लागि आवश्यक बजेट समेत व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

खाने तेल र कफिमा आत्मनिर्भर बन्ने
गाउँपालिकाले खाने तेल र कफीमा आत्मनिर्भर बन्ने नीति लिएको छ । कफी र खाने तेल आयतमा रोक लगाउने सम्मको कार्यक्रम राखिएको छ ।

आयातित खाने तेल स्वास्थ्यका लागि हानिकार हुनका साथै गाउँभित्रको करोडौँ बजेट बाहिरिने भएकाले तेलमा आत्मनिर्भर बन्ने नीति लिइएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।
वार्षिक रु.९ करोड बराबरको खाने तेल आयत हुने गाउँपालिका संग पारम्भिक तथ्याङ्क रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । खाने तेल आयतमा रोक्नको लागि अघिल्लो वर्ष देखिनै तोरी सहित तेलहन खेती बालीमा अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।

यस वर्ष पनि तोरी, सूर्यमुखी, फिलुङ्गी लगायतको बालीमा प्रोत्साहनको कार्यक्रम राखिएको बताइएको छ । उपयुक्त स्थानमा तोरी मिल स्थापना गरि उत्पादित तेलको लेबलीङ देखि प्याकिङ समेत गरिने कार्यक्रममा उल्लेख छ ।

कृषकलाई रोजगारी संगै आम्दानीमा जोड्ने उदेश्यले कफीमा आत्मनिर्भर बनाइने नीति अबलम्बन गरिएको छ । जसको लागि पालिका भित्र उत्पादन भएको कफी पालिकाले खरिद आवश्यक प्रसोधन समेत गरिने बताइएको छ ।

विशिष्ट सेवा सहितको अस्पताल निर्माण
गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवालाई पनि प्राथमीकतामा राखेर कार्यक्रम निर्माण गरेको छ । नागरिकबाट संकलन गरिएको सहयोग मार्फत सञ्चालित दुधकोशी अस्पताललाई थप व्यवस्थित बनाई MDGP डक्टर सहितको विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने उक्त नीति तथा कार्यक्रमले समेटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार