नेपालमा पहिलो पटक हाइड्रोजनबाट बल्यो चुलो

३१ भदौ, काठमाडौं । घरमा खाना पकाउने इन्धनको रुपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरुले १८ महिनादेखि गरिरहेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नयाँ ढंगबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर ७ मिनेटमा खाजा पकाइएको विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए ।

नेपाल इनर्जी फाउण्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौं विश्वविद्यालय, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्वीट्जरल्याण्डको सहयोगमा आइतबार सफल परीक्षण भएको उनको भनाइ छ ।

‘नेपालमा डेढ वर्षदेखि भइरहेको अध्यायनले हाइड्रोजन इन्धनको प्रयोगमा ‘ब्रेक थ्रु’ भएको छ । सम्भवतः हामी पहिलो पटक नेपालमा हाइड्रोजन स्टोभ बनाउन पनि सफल भएका छौं’ थापाले भने, ‘नेपालमा अथाह सम्भावना भएको हाइड्रोजन अब घरमै खाना पकाउने ग्याँसको विकल्पमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन अध्ययन सफल भएको छ ।’

डा. थापाकाअनुसार आइतबार विश्वविद्यालयका उपकुलपति र परियोजनाका अधिकारीहरु एवम् दर्जन वैज्ञानिकहरु सहभागी कार्यक्रममा ५ प्याकेट चाउचाउ परीक्षणको रुपमा पकाइएको थियो । हाइड्रोजन इन्धनको चुल्होमा पहिले कराही बसालेर पानी हालिएको थियो भने त्यसमा पछि चाउचाउ राखिएको थियो । उक्त चाउचाउ ७ मिनेटमा पाकेको थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार